'एसएमएस' गरी धम्की दिएर पैसा मागेको आरोपमा काठमाण्डौबाट एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

'एसएमएस' गरी धम्की दिएर पैसा मागेको आरोपमा प्रहरीले काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय आकाश तामाङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तामाङले चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीको म्यानेजरको मोबाइलमा 'एसएमएस' गरी पैसा मागेका थिए । तामाङ त्यही कम्पनीका लेबरका रूपमा काम गर्ने कर्मचारी रहेको खुलेको छ ।

तामाङले गएको असोज २१ गते राति कम्पनीका म्यानेजरको मोबाइलमा 'एसएमएस' गरेर डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म सहयोग चाहिएको र पैसा नदिएमा कम्पनीमा बम विस्फोट गराउने धम्की दिएका प्रहरीले जनाएको छ ।

तामाङलाई कम्पनीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।