शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । धर्मशास्त्र एवं धर्मग्रन्थका अनुसार वास्तवमा योग भनेको त्यो हो जहाँ आत्मा र परमात्मासँगको जोड हुन्छ । जोड अर्थात् याद (आत्माले परमात्मालाई याद गर्नु ) । समयक्रमसँगै योगलाई शारीरिक अभ्यासको नाम समेत मिसाएर योगा भन्ने शब्दको प्रयोग गरेको पाउन सकिन्छ ।
अध्ययन र विभिन्न योगीहरुको भनाइ अनुसार योग विभिन्न प्रकारका हुन्छन ।
योगलाई विशेषगरी आठ चरणमा विभाजन गरि गर्ने गरिन्छ । यस अन्तर्गत यम (नैतिक अनुशासन) नियम, (व्यक्तिगत अनुशासन) आसन (शारीरिक क्रिया) , प्रणायाम (श्वासप्रश्वासको नियन्त्रण), प्रतिहार (इन्द्रियको नियन्त्रण), धारणा (एकाग्रता), ध्यान (मेडिटेसन) , समाधि (ध्यानको चरम बिन्दु ) गरि आठ चरण रहेका छन् । यसलाई "अष्टाङ्ग योग" पनि भनिन्छ ।
यसकारण योगअभ्यास गरौं
- तन र मन दुवैको स्वास्थ सन्तुलन राख्न,
- दैनिक जीवनमा आइपर्ने समस्या एवं तनावलाई कम गर्न,
- अल्छिपन, अनिद्रा, चञ्चलता जस्ता समस्यलाई निवारण थर्न,
- आफ्नो जीवनलाई सन्तुलन तरिकाले अगाडि बढ्न,
- भूत र भविष्यको कुराले तनाव मनलाई वर्तमान समयमा राख्न,
- सकारात्मक सोचको विकास गर्न ।
वर्तमान विश्व जगत अहिले शान्तिको खोजीमा बाहिर निस्किरहेको छ । आज बच्चा देखि वृद्धसम्मका हरेक मानिसहरु आज डिप्रेसन, एन्टाइजी लगायतका मानसिक समस्याबाट ग्रसित छ ।
आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा योग एक यस्तो अमृत हो, जसले हामीलाई फेरि आफूभित्र फर्कन सिकाउँछ। हामी दिनभरि बाहिरी संसारमा हराइरहेका हुन्छौं, तर योगलले एकछिन समय निकाल, आँखा बन्द गर, र आफ्नो भित्री आवाज सुन भनी सिकाउँछ ।
बिहानको शान्त समय, खुला हावा, र गहिरो श्वाससहित गरिने साधारण योग अभ्यासले पनि ज्यान र मस्तिष्कमा नयाँ ऊर्जा भरिदिन्छ। श्वासप्रश्वासको नियन्त्रण, सरल ध्यान र केही आसनहरूले मात्र पनि जीवनमा शान्तिको सन्देश ल्याउँछ।
योग अभ्यास नियमित गरियो भने मानिस केवल स्वस्थ मात्र बन्दैन, ऊ अनुशासित, सहनशील र आत्मविश्वासी पनि बन्छ। योगले हामीलाई धैर्य सिकाउँछ, आफूलाई बुझ्ने समय दिन्छ, अनि साँचो अर्थमा "जीवनको अनुभव" गराउँछ।
आज विश्वले जुन कुरा खोजिरहेको शान्ति, प्रेम र सन्तुलन — ती सबैको मूल चाबी योगभित्र लुकेको छ। हामीलाई बाहिरी परिवर्तन भन्दा भित्री परिवर्तन चाहिएको छ, र त्यो परिवर्तनको सुरुवात योगबाट सम्भव छ । निश्चय बुद्धि विजयन्ते भने झैं योगलाई हामीले निश्चय एवं दृढताका साथ अभ्यासमा ल्याउन चाल्यौं भने हाम्रो जीवनको बाटो हामीले भेटाउन सक्छौं ।
हरेक वर्ष राष्ट्रिय एवं अन्तर्राष्ट्रिय योग दिवसहरु त आउँछ तर हामीले योगको महत्त्व बुझन सकेका छैनौं ।
आज हाम्रो समाज यति साधुरों सोचको भइसक्यो कि अध्यात्मको कुरा गर्न, योगअभ्यासलाई दैनिकि बनाउन पनि बुढेसकाल लाग्नुपर्ने, कपाल फुल्नुपर्नै मान्यतामा हुर्केको छ ।
वास्तवमा हामीले बच्चा देखि देखी नै योग र ध्यानको अभ्यास बालबालिकालाई सिकाउँन जरुरी छ मानिसकोको सबैभन्दा महत्त्वपूर्ण चिज भनेकै मन र बुद्धि हो । जसको अवस्था ठिक रहेमा मात्र जीवन सुखमय बन्न पुग्दछ । योगको अभ्यासलाई अगाडि बढाउन मान्यता प्राप्त योग प्रशिक्षक वा योग अभ्यास गर्ने व्यक्तिहरु सिकेर त्यसलाई निरन्तरता दिन सकिन्छ ।
वर्तमान विश्व द्वन्द्व नै द्वन्द्व को चपेटामा छ । आज धेरै मानिसहरुले भौतिक सुख सुविधा प्राप्त त गरेका छन, तर मन भित्रको शान्तिलाई चिन्ने र अनुभव गर्ने प्रयास नै गरेका छैनन । आज मानिसहरु यति बेस्त हुन थाले कि आफ्नो लागि दिनको १ घण्टा पनि समय दिन सक्तैनन् । त्यसकारण मन शान्तिको लागि कहि भौतारिनु पर्दैन, यो त हामी भित्र छ, यसलाई हामीले उजागर गर्न सक्नुपर्दछ ।
योग गरौं, स्वास्थ बनाअौं, जीवनलाई सन्तुलित र प्रेम गरौं ! विश्व योग दिवसको अवसरमा सम्पूर्णमा शुभकामना !
लेखक : निश्चल ज्ञवाली ।