रुपन्देही । "हाम्रो देश हामीले बनाऔं, बोलेर होइन गरेर देखाऔं" भन्ने मूल नारासहित सेभ फ्युचर नेपालले साउन महिनाको पहिलो सोमबार विशेष सामाजिक कार्यक्रम सम्पन्न गरेको छ।
सिद्धार्थनगर नगरपालिका–८, बसडिलवास्थित प्रसिद्ध ऐतिहासिक शिव मन्दिर परिसरमा सेभ फ्युचर नेपालले निःशुल्क चिया वितरण तथा सरसफाइ कार्यक्रम आयोजना गरेको हो।
साउन महिनाको सोमबार शिवभक्तहरूको घुइँचो हुने भएकाले तीर्थयात्रुहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सयौं श्रद्धालु भक्तजनहरूले सहभागी भएर चिया सेवा ग्रहण गरे भने मन्दिर परिसरको सरसफाइ अभियानमा युवाहरूले सक्रिय सहभागिता जनाएका थिए।
उक्त कार्यक्रमार्फत समाजमा सेवा, सरसफाइ र धर्मप्रतिको सम्मानजस्ता सकारात्मक सन्देश प्रवाह गर्न खोजिएको आयोजकको भनाइ छ।
सेभ फ्युचर नेपालले आफ्ना सामाजिक अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा थप रचनात्मक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ। साथै, कार्यक्रम सफल बनाउन साथ दिने सबै श्रद्धालु भक्तजनहरू, मन्दिर व्यवस्थापन समिति र पुजारीप्रति संस्थाले विशेष आभार व्यक्त गरेको छ।