निश्चल ज्ञवाली, सैनामैना ।
पश्चिम नेपालको 'पशुपतिनाथ'का रूपमा परिचित सैनामैनाको पर्रोहा परमेश्वर बोलबम धाम पछिल्लो समय धार्मिक आस्थाको केन्द्रबिन्दु बन्न थालेको छ ।
श्रावण महिना लागेसँगै दर्शनार्थीको बाक्लो उपस्थितिले धामको रौनक उत्तिकै बढेको छ । यसैबीच साउन महिनाको पहिलो सोमबार पर्रोहा परमेश्वर बोलबम धाममा अहिलेसम्मकै ठुलो सङ्ख्यामा दर्शनार्थीको घुइँचो लागेको छ ।
नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिंग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी साउन महिनाभरि सोमबारका दिन पहेँलो वस्त्रधारी दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।
अन्य महिनाभन्दा साउन महिनाको सोमबार शिवको पवित्र बार हुने विश्वास गरिन्छ । साउन महिनाका सोमबार शिवालयमा पूजा गर्दै शुद्ध जल र दुध चढाउने तथा दान गर्ने परम्परा छ ।
यहाँ रहेको शिव ज्योतिर्लिंगमा हरेक वर्षको गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ ।
यस वर्ष पनि असार २६ गते (गुरूपूर्णिमा) देखि श्रावण २४ (जनैपूर्णिमासम्म) बोलबम श्रावणी मेला लागिरहेको छ । शिव ज्योतिर्लिंगमा जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दीर्घायु हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
यही विश्वासका साथ हरेक वर्ष कपिलवस्तुको रामघाट, लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्युठानको स्वर्गद्वारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथलगायत भारतको उत्तर प्रदेश, बिहारका विभिन्न जिल्लासहित हरिद्वार र हरियाणाबाट समेत भक्तजन जलार्पणका लागि आउने गर्छन् ।
बोलबम धाममा आउने दर्शनार्थीहरुलाई सहजता प्रदान गर्नको लागि विभिन्न संघसंस्थाहरुले समेत सहयोग पुर्याइरहेका छन् ।
पर्रोहा परमेश्वर बोलबम धामका अध्यक्ष चित्रबहादुर कार्कीले अघिल्लो सोमबारदेखि नै भक्तजन आउन थालेको जानकारी दिए । बोलबम धाममा बिहान ४ बजेदेखि नै जलार्पणको व्यवस्थापन गरिएको उनको भनाइ छ ।
उनले गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्म हरेक दिन धाममा रहेको शिवालय र शिवज्योतिर्लिंगमा जलार्पण भइरहने भए पनि सोमबार दर्शनार्थीको घुइँचो हुने बताए । उनले अगामी सोमबारहरु समेत दर्शनार्थीहरुको अझै बढी उपस्थिति रहन सक्ने बताएका छन ।
बुटवलबाट १४ किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गको रानीबगियाबाट दुई किलोमिटर दक्षिणमा रहेको पर्रोहा परमेश्वर बोलबम धाम ३२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । जहाँ मुख्य मन्दिर, १०८ शिवलिंग, अर्धचन्द्र आकारको धाम सरोवर, धाम सरोवरमा साढे पाँच फिट अग्लो शिवजीको मूर्ति राखिएको छ । गणेश, हनुमान, सन्तोषी माता, पार्वती, लक्ष्मी–नारायण र राधाकृष्ण मन्दिर निर्माण गरिएका छन् ।