लिटल बर्ड्स स्कुलद्वारा ‘असल अभिभावकत्व’ विषयक एकदिवसीय प्रशिक्षण, ३५० भन्दा बढी अभिभावक सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना नगरपालिकामा शैक्षिक गुणस्तर सुदृढीकरण र अभिभावक–विद्यालय सम्बन्ध मजबुत बनाउने उद्देश्यसहित लिटल बर्ड्स इङ्ग्लिस सेकेन्डरी स्कुल, सैनामैना–२ ले ‘असल अभिभावकत्व’ सम्बन्धी एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।


सैनामैना–१, बनकट्टास्थित त्रिमूर्ति पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा ३५० भन्दा बढी अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिकालाई केन्द्रमा राख्दै आयोजना गरिएको कार्यक्रममा बदलिँदो सामाजिक परिवेश, प्रविधिको प्रभाव र बालमनोविज्ञानका विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य सहजकर्ता प्याब्सन नेपालका पूर्व केन्द्रीय सदस्य एवं सचिवालय सदस्य लेखनाथ पौडेलले बालबालिकाको सर्वाङ्गीण विकास विद्यालयको प्रयास मात्रले सम्भव नहुने स्पष्ट पार्दै अभिभावकको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले बदलिँदो समय अनुसार बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूलाई संस्कारयुक्त, व्यवहारिक र सकारात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो।
“असल अभिभावक बन्नका लागि बालबालिकासँग समय बिताउने, उनीहरूका भावना र कुरा ध्यानपूर्वक सुन्ने तथा सकारात्मक वातावरण निर्माण गर्न आवश्यक छ,” उहाँले सहजीकरणका क्रममा भन्नुभयो।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार शर्माले बालबालिकाको शैक्षिक सफलताका लागि विद्यालय, शिक्षक र अभिभावकबीच तीन पक्षीय सम्बन्ध मजबुत हुनुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा भएको छलफलले अभिभावकहरूलाई आफ्ना छोराछोरीको भावना बुझ्न र सही मार्गनिर्देशन गर्न नयाँ ऊर्जा दिएको विश्वास व्यक्त गर्नुभयो।


विद्यालयका प्राचार्य धर्मराज घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई घर र विद्यालयको समन्वयबाट मात्रै पूर्ण हुने धारणा व्यक्त गर्नुभयो।


यस्तै, विद्यालय व्यवस्थापन समिति सदस्य राजन अर्यालले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सह–प्राचार्य सुरेश पौडेलले अभिभावकहरूको उल्लेखनीय उपस्थिति र सक्रिय चासोले विद्यालयलाई थप उत्साह र ऊर्जा मिलेको बताउनुभयो। अतिरिक्त क्रियाकलाप इन्चार्ज अनिश भण्डारीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा अभिभावकहरूले आफ्ना अनुभव, जिज्ञासा र सुझावहरू समेत साटासाट गरेका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।