असोज ५,जुम्ला – जुम्लाका मौरीपालक किसानहरु मौरीघारमा भालुले क्षति पुर्याउँदा चिन्तित बनेका छन् । भालुबाट मौरीलाई बचाउन समस्या भएको चन्दननाथ नगरपालिका–४ का किसान रामकृष्ण बुढ्थापाले बताउनुभयो ।
बितेको दुई वर्षका भालुले उहाँका १३ घारका माहुरी खाइदिएको छ । जङ्गलको छेउमा मौरीपालन भएकाले चरन क्षेत्रको अभाव छैन । तर भदौ, असोज र कात्तिक महिनामा मौरीपालनमा भालु आतङ्क नै हुने गरेको मौरीपालन सहकारी संस्थाका सचिव नारायण चौलागाईंले जानकारी दिनुभयो । भालुले मौरीको लार्भा र मह खाइदिन्छ ।
भालुले चन्दननाथ नगरपालिकाको चौरखोला, रडिखल्ला र तलिउम क्षेत्रमा मौरीघार सखाप पारिरहेको छ । कनकासुन्दरीको लेकाली क्षेत्र, पातारासीको पेरे, गुठिचौरको कोल्ते क्षेत्रमा मौरीघारमा भालुले धैरै क्षति गरेको मौरीपालन सहकारी संस्थाका सचिव चौलागाईंले बताउनुभयो । किसानले मौरीको दररेट तोक्न दिन माग गर्दै कृषि विकास कार्यालयमा निवेदन दिएपनि कार्यालयबाट सुनुवाइ नभएको उहाँले बताउनुभयो ।