सैनामैनामा ऐतिहासिक तीनदिने भड्छा माघे औँसी मेला आजदेखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फाइल फोटो : नरेश चौधरी, सैनामैना, माघ ३ ।
रुपन्देहीको सैनामैना नगरपालिका–८ स्थित भड्छा गाउँमा ऐतिहासिक तथा सांँस्कृतिक महत्व बोकेको तीनदिने भड्छा महोत्सव तथा रात्री माघे औँसी मेला शनिबार आज देखि सुरु हुने भएको छ । थारु समुदायको संस्कृति, धार्मिक परम्परा र पहिचानसँग जोडिएको यो मेला यस वर्ष ११५औँ संस्करणका रूपमा आयोजना गरिएको हो ।


हरेक वर्ष माघे औँसीको अवसरमा आयोजना हुँदै आएको यो मेला राती सुरु भएर राती नै समापन हुने विशिष्ट पहिचान बोकेको प्राचीन मेला हो । मेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।


वडा अध्यक्ष तथा मेला मूलसमारोहका संयोजक चौधरीले भड्छा मेला यस क्षेत्रकै ऐतिहासिक धरोहर भएको उल्लेख गर्दै थारु समुदायको संस्कृति संरक्षण, इतिहासको संवद्र्धन र पहिचान जोगाउने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभएको छ । 

उहाँका अनुसार परापूर्वकालदेखि चल्दै आएको यस मेलाले थारु समुदायको सामाजिक, सांस्कृतिक र धार्मिक जीवनशैली झल्काउने महत्वपूर्ण भूमिका खेल्दै आएको भनाई छ ।


मेलाको संरक्षणमा सबै समुदायको साझा अपनत्व आवश्यक रहेको उल्लेख गर्दै मेला प्रचार–प्रसार उपसमितिका संयोजक हरिनारायण थारुले रात्रीकालीन स्वरूपकै कारण मेलाको धार्मिक तथा सांस्कृतिक महत्व अझ बढी रहेको बताउनुभयो ।


मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले थारु समुदायको अस्तित्व, अधिकार स्थापना तथा पछाडि परेका समुदायलाई मूलधारमा ल्याउन भड्छा मेलाले महत्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभएको छ ।


मेलाअवधिभर थारु संस्कृतिलाई झल्काउने पहिरन, पुराना सामग्रीको प्रदर्शनी, ऐतिहासिक बड्का नाच, झुमडा नाच, थारु परिकार तथा पहिरनका स्टल, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, खुला वडास्तरीय भलिबल प्रतियोगिता, लोकचुट्का भजन, सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने झुमण नाच संयोजक रामबहादुर थारुले जानकारी दिनुभयो ।
मेला रात्रीकालीन स्वरूपकै कारण सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरु बताउँछन् । 

आर्थिक स्रोतको अभाव, सरकारी तथा प्रशासनिक सहयोग सीमित हुनु, समयसँगै समाजमा आएको परिवर्तन, पुस्तान्तरण प्रभावकारी रूपमा हुन नसक्नु तथा नयाँ पुस्तामा मेलाप्रति चासो घट्दै जानुजस्ता कारणले आगामी दिनमा मेला सञ्चालन गर्न कठिनाइ हुन सक्नेप्रति सरोकारवालाहरूले चिन्ता समेत व्यक्त गरेका छन् ।


रात्रीकालीन प्राचीन मेलाको रूपमा परिचित भड्छा मेला अवलोकन गर्न रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, दाङलगायतका थारु तथा अन्य समुदायका सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने गरेको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान — संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित भड्छा गाउँ समाजको आयोजनामा माघ ३, ४ र ५ गतेसम्म मेला सञ्चालन हुनेछ ।


रक्तदान कार्यक्रम सम्पन्न
मेलाको पूर्वसन्ध्यामा मानविय सेवाको उद्देश्यसहित आयोजित रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन गरिएको छ । उक्त कार्यक्रम भड्छा गाउँ समाज तथा मेला मूल समारोह समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी तथा रक्त सञ्चार केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।