निश्चल ज्ञवाली, सैनामैना ।
सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मत रुपले पारित गरेको छ । नगरपालकाले " सैनामैना समृद्धिको आधार : उत्पादन, पर्यटन र पूर्वाधार " भन्ने नारा सहित १३५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरि आजै पारित गरेको हो ।
नगरले नगरको दीर्घकालिन बिकासका लक्ष्यहरु सहित केही महत्त्वपूर्ण विषयहरुलाई नीति तथा कार्यक्रममा समेटेको छ ।
सत्रौं नगर सभामा नगरपालिकाका नगर प्रमुख फणेन्द प्रसाद शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा थुप्रै महत्त्वपूर्ण नाराहरुलाई समावेश गरिएको छ ।
"कोख देखि शोक सम्म, नगर सरकार, कृषिको आधारमा : सिंचाइमा सुधार "
" उत्पादन साथमा, अनुदान हातमा " , विद्यालयको सरसफाई र सुन्दरताको लागि हरेक दिन मेरो दुई मिनेट " विभेदमुक्त नगर, समानतायुक्त नगर " , "समग्र शिक्षाको सुधार, बालबालिका विद्यालय प्रवेशको आधार" , " स्वच्छ आहार, स्वस्थ्य तन, अनि मात्र सिकाईमा लाग्छ मन" , "हामी बनाउँछौं, हाम्रो पुर्वाधार, आधा लगानी, पूरा अपनत्व" , एक वडा एक पोखरी, "स्वस्थ नागरिक, स्वस्थ नगर" , पूर्वतयारीमा जुटौं, जोखिम घटाअौं" , नीति तथा कार्यक्रममा उल्लेख गरिएका नारा एवं अभियानहरु हुन् ।
नीति तथा कार्यक्रममा भूमिहिन दलित र अव्यवस्थित बसोबासी क्षेत्रको जग्गाको नाप जाँच सहित जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गर्ने विषयलाई महत्त्वपूर्ण रुपमा समावेश गरिएको छ । नगरमा दूधजन्य उत्पादनलाई वृद्धि गर्न नि:शुल्क नश्ल सुधार कार्यक्रम, सालझण्डीको पानवारी हाटबजारलाई सञ्चालनमा ल्याउन आवश्यक पहल गर्ने कुरा समेटिएको छ ।
विद्यालयमा कार्यरत महिला शिक्षकहरु कानून बमोजिम प्रसूति विदामा बसेको अवस्थामा विद्यार्थीहरुको पठन पाठन हुने क्षतिलाई कम गर्न निजको स्थानमा स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई स्वंयसेवक शिक्षकको रुपमा कार्य गराउने नीति लिइनेछ ।
खेलकुद क्षेत्रको विकासको लागि सैनामैना नगरपालिका वडा नं ४ मा निर्माणाधीन फुटबल रङ्गशालालाई क्रमश: व्यवस्थित बनाउँदै नगरको गौरव खेल पूर्वाधार रुपमा विकास गर्न आवश्यक कार्यविधि तयार गरिने छ । यस्तै वडा नं ७ लम्टैयास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई व्यवस्थित गर्दै लैजानुका साथै निर्माण सम्पन्न भएका सबै विधाका खेलकुद पूर्वाधारको दिगो सञ्चालनका लागि आवश्यक कार्यविधि बनाई लागु गरिने कुरा उल्लेख छ ।
सामाजिक परिचालनको माध्यमबाट गरिवी न्युनिकरण गर्ने उद्देश्यले सैनामैना नगरपालिकामा सञ्चालित स्थानीय विकास कोष कार्यक्रमबाट सकारात्मक विभेदको नीति अवलम्बन गरी "संगठन, बचत र सीप विकासको माध्यमबाट समुदायमा रहेका दलित, जनजाति, आदिवासी, विपन्न तथा पिछडिएका व्यक्तिहरुलाई सामाजिक, आर्थिक शसक्तिकरणको लागि जनचेतनामुलक, क्षमतामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ । साथै सामुदायिक संस्थाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन वडागत रुपमा सामाजिक सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
नगरपालिकाको समग्र शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न तथा सडक दुर्घटना न्युनीकरण गर्न मुख्य चोकहरुमा सि.सि क्यामरा जडान गर्ने कार्यलाई निरन्तरता दिईने छ ।
नीति तथा कार्यक्रम लगत्तै कार्यक्रममा नीति तथा कार्यक्रममा भएका विषयमाथि नगरसभाका सदस्यहरुले विभिन्न प्रश्न सहित समेट्नुपर्ने विषय वस्तु माथि ध्यानाकर्षण गराएका छन् ।
नगर सभा सदस्यहरुले लागू अौषध न्युनिकरण, युवा उद्यमशिलता, नदीजन्य पदार्थको संरक्षण, सामुदायिक क्याम्पसहरुको गुणस्तरीय सुधार लगायतका विषयलाई नीति तथा कार्यक्रममा समेट्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
नगर सभाका सदस्यहरुले उठाएका विभिन्न विषयलाई सम्बोधन गर्दै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको नगर सभामा जानकारी दिनुभयो ।
निति तथा कार्यक्रममा उपप्रमुख विना राना, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, नगरपालिकाका कर्मचारीहरु, सैनाामैना १ देखि ११ वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य, नगर सदस्य, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
बुधबारबाट सुरु भएको नगरसभाको अर्को बैठक असार १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।