नेपालमा एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक झापामा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सम्‍मेलनले नेपालको स्थानीय आवश्यकतामा आधारित उत्तरदायी र समावेशी एआई विकासको खाका तयार गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ।

नेपालमा पहिलो पटक झापाको बिर्तामोडमा एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आईसीआरटीएआई २०२५ असार १४ र १५ गते आयोजना हुनेछ।
सुनिल शर्माले भने, 'नेपालको प्रविधि इतिहासमा एआईसम्बन्धी नयाँ अध्याय सुरु हुँदैछ।'
सम्मेलनले नीति निर्माण, अनुसन्धान, र शिक्षा क्षेत्रलाई एउटै मञ्चमा ल्याउने उद्देश्य राखेको छ।
३ असार, बिर्तामोड। नेपालमा एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक झापा हुने भएको छ । इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (आईसीआरटीएआई २०२५) अन्तर्राष्ट्रिय सम्मेलन असार १४ र १५ गते झापाको बिर्तामोडमा हुन लागेको मेची क्याम्पसका आइटी प्रमुख एवं कार्यक्रम संयोजक सुनिल शर्माले जानकारी दिए ।

उनले भने, ‘नेपालको प्रविधि इतिहासमा एआईसम्बन्धी नयाँ अध्याय सुरु हुँदैछ। हामीले आईसीआरटीएआई २०२५ नामक अन्तर्राष्ट्रिय सम्मेलनमार्फत सरकारको डिजिटल नेपाल अभियान, ई-गभर्नेन्स नीति र इनोभेसन इनक्युबेसनका क्षेत्रहरूलाई एआईमार्फत कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने छलफल गर्नेछौं।’


उनका अनुसार सम्‍मेलनले नेपालको स्थानीय आवश्यकतामा आधारित उत्तरदायी र समावेशी एआई विकासको खाका तयार गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ।


उनले नेपाल प्रविधिमा भर्जिन ल्यान्ड भएकाले एआईमा थुप्रै अवसर र चुनौतीहरू रहेको पनि उल्लेख गरे । उनले भने, ‘नेपालको बहुसांस्कृतिक, बहुभाषिक र भौगोलिक विविधता भएको देशमा एआईको प्रयोगले पहुँच अभाव, दक्ष जनशक्ति अभाव, तथा नीतिगत स्पष्टता अभावजस्ता समस्यालाई अवसरमा रूपान्तरण गर्न सक्छ।’


एआई प्रविधिले स्वास्थ्य क्षेत्रमा टेलिमेडिसिन, शिक्षामा स्वचालित मूल्याङ्कन, र कृषिमा स्मार्ट निगरानी प्रणालीको विकासलाई व्यवहारिक बनाउने उनको दाबी छ ।


यसका साथै एआईका केही नकारात्मक पक्षहरू जस्तै यसले ल्याउने नैतिक, सामाजिक र नीतिगत चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक तयारी र समन्वय नुहँदा क्षतिसमेत हुने चुनौतीहरू रहेको उनले बताए । ‘एआईले एकातिर टेलिमेडिसिन, शिक्षामा स्वचालित मूल्याङ्कन, र कृषिमा स्मार्ट निगरानी प्रणालीको विकासमा मद्दत पुर्‍याउँछ भने अर्कातिर नैतिक, सामाजिक र नीतिगत चुनौतीहरूलाई सम्बोधन गर्न नसके हानी पुर्‍याउन सक्ने सम्भावना रहन्छ ।’ उनले भने ।


उनका अनुसार सम्‍मेलनले एआई नीति, अनुसन्धान, नवप्रवर्तन र शिक्षा क्षेत्रलाई एउटै मञ्चमा ल्याउने अथक प्रयास हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।