काठमाण्डौ – सडक किनारमा बैजनी रंगको ज्याकारान्डा फूल ढकमक्क फुलेपछि चक्रपथको ललितपुर महालक्ष्मीस्थान सडकको रुप फेरिएको छ । रुखमाथि ढकमक्क फूल, अनि रुखमुनिको सडकमा त्यही फूल झरेर सडक किनार नै सजाइएको जस्तो दृश्य । यही दृश्यलाई पृष्ठभूमिमा राखेर फोटो खिच्ने, टिकटक र रिल बनाउनेहरुको दिनभर भिड लाग्छ ।
काठमाण्डौका केही मुख्य सडकहरुमा अहिले यसैगरी बैजनी रंगका ज्याकाराण्डा फूल ढकमक्क फुलेका छन् । यो फूललाई भंगेरी फूल र बेगनबेली पनि भनिन्छ । यो फूलले एकातिर शहरको सुन्दरता बढाएको छ । फूल हेर्ने, फोटो र भिडियो खिच्नेहरुको मन रमाएको छ । अर्कोतिर केहीलाई आयआर्जनको मौका पनि जुराएको छ । फूल फुलेको हेर्न, र फुल हेरेर आनन्द लिन आउनेको फोटो खिचेर कमाइ गर्नेहरु महालक्ष्मीस्थानको सडकमा भेटिन्छन् ।
पैदल हिँड्नेलाई मात्रै होइन, गाडी र मोटरसाइकलमा गुड्नेहरु पनि फूल हेरेर आनन्द लिन्छन् । सडकमा भीड बढेको यही मौका पारेर काफल, चटपटे र आइसक्रिम बेच्ने व्यापारीहरुको पनि चहलपहल थपिएको छ ।
रुखमा फुलेको ज्याकारान्डा फूलको आकर्षणमा फोटो र भिडियो खिच्न पुगेका कतिपयले भुईंमा रहेको फूल भाँच्ने र दुबो माड्ने पनि गरेका छन् । ललितपुर महानगरपालिकाको महानगर प्रहरीले बेलाबेला रेखदेख गरिरहेको हुन्छ । पाका मानिसहरुले रमणीय ठाउँमा आएपछि बोटविरुवाको ख्याल गर्नुपर्नेमा सम्झाउने गरेका छन् ।
अहिले काठमाण्डौका अरू ठाउँहरु कमलपोखरी, रत्नपार्क, टुँडिखेल, दरबारमार्ग लगायत क्षेत्रमा पनि ज्याकाराण्डा ढकमक्क फुलेको छ । सडक किनारामा हाँगा फिंजिएका रूखभरि बैजनी रंगको फूल फुल्दा शहर सुन्दर, गुलजार बनेको छ । अनि नजिकै गएर फूल नियाल्ने, फोटो र भिडियो खिच्ने तथा व्यापार व्यवसाय गर्नेहरुको चहलपहलले ज्याकाराण्डा फूलको रुखमुनी दिनभर मेला लागेजस्तै हुन्छ ।