हर्मुजमा शुल्क नउठाउन इरानलाई ट्रम्पको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा शुल्क नउठाउन इरानलाई चेतावनी दिनुभएको छ । यसअघि बुधवार बिहानसम्म इरानले स्ट्रेट अफ हर्मुज नखोले इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिनुभएका ट्रम्पले समयसीमा सकिन दुई घण्टाभन्दा कम बाँकी रहँदा दुई हप्ताका लागि युद्धविराम घोषणा गर्नुभएको थियो ।

हर्मुज खोल्ने शर्तमा युद्धविराम भएको ट्रम्पकाे दाबी थियो । तर अझै पनि हर्मुज युद्धअघिको जसरी खुलेको छैन । हर्मुज प्रयोग गरिरहेका सीमित जहाजसँग पनि इरानले शुल्क उठाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी र इरानी प्रतिनिधिमण्डलहरू स्थायी सम्झौताका लागि भोलि पाकिस्तानमा वार्ता गर्ने कार्यक्रम छ । वार्तामा हर्मुज भएर हुने ढुवानी मुख्य विवादको विषय हुने छ । यही समयमा ट्रम्पले हर्मुजमा शुल्क नउठाउन इरानलाई चेतावनी दिनुभएको हो ।

यसैबीच इरान र अमेरिकाबीच युद्धविराम भए पनि तेल र ग्यासको मूल्य मध्यपूर्व युद्धअघिको स्तरमा फर्कन धेरै समय लाग्ने विश्लेषकहरूले बताएका छन् । अहिले नै मूल्य कहिले सामान्य अवस्थामा फर्किन्छ भनेर भन्न धेरै चाँडो हुने अमेरिकाको टर्फ्स विश्वविद्यालयको फ्लेचर स्कूलका प्राध्यापक रकफोर्ड वेट्ज बताउनुहुन्छ । बजार स्थिर हुन हर्मुजबाट जहाजहरू निर्बाध रूपमा बाहिरिन पाउने सुनिश्चितता हुनुपर्ने विश्लेषकहरूको भनाइ छ ।

मध्यपूर्व युद्ध शुरू हुनुअघि हरेक दिन झन्डै १२० देखि १४० वटा जहाज हर्मुजबाट बाहिरिने गरेका थिए । अहिले हर्मुजबाट बाहिरिने जहाजहरूको सङ्ख्यामा निकै कमी आएको छ । अस्ति बुधवार ५ र हिजो बिहीवार ७ वटा जहाज मात्रै बाहिरिएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।