काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार रहेको बताउनुभएको छ ।
७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार आर्थिक अनियमितता मात्रै नभइ यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन पनि रहेको बताउनुभयो ।
कार्कीले भ्रष्टाचारका कारण बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुने र विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित हुने उल्लेख गर्नुभयाे । उहाँले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
यस्तै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष चुनाव रहेको भन्दै आउँदो फागुन २१ गतेको चुनावलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको बताउनुभयो । उहाँले समयमै चुनाव सम्पन गर्न सबै पक्षलाई सहयोगका लागि आह्वान गर्नुभएको छ ।