काठमाण्डाै – नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा लीला भण्डारीलाई अगाडि बढाउने निर्णय गरेको छ । उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गर्ने समय अहिले साढे ३ बजेसम्मका लागि तोकिएको छ ।
राष्ट्रियसभामा रहेका नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले उपाध्यक्ष र चार वटा समिति सभापति बाँडफाँट गरेसँगै एमालेले उपाध्यक्षमा लीला भण्डारीलाई अगाडि बढाउने निर्णय गरेको हो ।
कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाकाअनुसार एमालेले राष्ट्रियसभाको उपाध्यक्ष पाउने सहमति भएको छ । त्यस्तै कांग्रेसले दुई वटा संसदीय समितिका सभापति लिनेछ भने नेकपा र जसपा नेपालले एक/एक वटा समितिको सभापति पाउनेछन् ।
राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि चुनाव भोलि र विषयगत समितिको चुनाव पर्सि हुनेछ । विमला घिमिरेको कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्ष पदमा भोलि चुनाव हुन लागेको हो । राष्ट्रिय सभामा सत्तारूढ दलको भने सहभागिता छैन ।