गणित किन कसैलाई गाह्रो र कसैलाई सजिलो हुन्छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी : एउटा किसानसँग तीन प्रकारका जनावर हुन्छन्। तीन बाहेक सबै भेडा हुन्। चार बाहेक सबै बाख्रा हुन् र पाँच बाहेक सबै घोडा हुन्। अब भन्नुस्, किसानसँग कुन जनावर कति छन्?

यस्ता प्रश्नले धेरैलाई अल्झाउँछ, र गणितको हल खोज्न उनीहरूलाई निकै गाह्रो हुन्छ।  माथि सोधिएको प्रश्नको उत्तर ‘एउटा घोडा, दुई बाख्रा र तीन भेडा’ हुन् ।

यसैगरी केही मान्छेलाई भने गणित सजिलो लाग्छ। कसैलाई निकै कठिन र कसैलाई सहज किन छ गणित ?

यसमा जीन (वंशाणुगत गुण) ले भूमिका खेल्न सक्छन् तर तिनीहरू धेरै कठिन प्रश्नको एक हिस्सामात्र हुन्। यसमा जीव विज्ञान, मनोविज्ञान र वातावरणको जटिल मिश्रण रहेको विज्ञ बताउँछन्। 

जुम्ल्याहा बच्चामा अध्ययन 

गोल्डस्मिथ्स युनिभर्सिटी अफ लन्डनकी प्रोफेसर युलिया कोभास एक आनुवंशिकीविद् र मनोवैज्ञानिक हुन् जसले मानिसहरूको गणितीय क्षमतामा किन भिन्नता छ भनेर अध्ययन गर्छिन्।

आनुवंशिक र माहोल वा परिवेश जस्ता कारकले सिक्ने क्षमतालाई कसरी प्रभाव पार्छन् भनेर बुझ्न उनले लगभग १० हजार जोडी समान र असमान जुम्ल्याहा माथि वृहत् अध्ययन गरिन्। 

‘समान जुम्ल्याहा असमान जुम्ल्याहाभन्दा हरेक मानसिक विशेषताहरूमा एक अर्कासँग बढी मिल्दाजुल्दा हुन्छन्। यो समानता गणितीय क्षमतामा पनि देखियो, प्रोफेसर युलिया कोभासले भनिन्‚ ‘यसको अर्थ घरको वातावरणले मात्र यो भिन्नतालाई व्याख्या गर्न सक्दैन। जीनले पनि भूमिका खेल्छ भन्ने देखियो।’ 

उनका अनुसार माध्यमिक विद्यालयको समय र वयस्क हुने क्रममा गणितीय सिकाइ र क्षमताको आनुवंशिक घटक ५० देखि ६० प्रतिशतसम्म हुन्छ। ‘यसले जीन र वातावरण दुवै महत्वपूर्ण छन् भन्ने विचारलाई बलियो बनाउँछ’‚कोभासले थपिन्।

वातावरणले कति भूमिका खेल्छ?

गणितीय समस्याको हल खोज्ने क्रममा हामी बस्ने वातावरणले पनि धेरै महत्व राख्छ। विद्यार्थीले अध्ययन गर्ने विद्यालय कति राम्रो, अनुकूल, उपयुक्त छ वा विद्यार्थीले आफ्नो गृहकार्यमा कति मद्दत पाउँछ भन्ने कुरामा मात्र यो सीमित छैन।

‘कहिलेकाहीँ केही “संयोग” हुन सक्छ, प्राध्यापक कोभास भन्छिन्‚ ‘तथापि व्यक्तिको आनुवंशिक प्रवृत्तिले तिनीहरूलाई विशिष्ट प्रकारको जोखिममा पुर्‍याउन सक्छ।’

बेलायतको लफबरो विश्वविद्यालयमा गणितीय ज्ञानको अनुसन्धान गर्ने डा. इरो जेनिडो–डार्भो भन्छिन्‚ ‘सबै जना गणित विशेषज्ञ बन्न सक्दैनन् तर सबै जना आफ्नो गणितीय क्षमता सुधार गर्न सक्छन्।’

मान्छेको विचार, विश्वास, मनोवृत्ति र भावनाले संख्यात्मक ज्ञान र गणितीय दक्षता विकास गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। 

डा. जेनिडो–डार्भोका अनुसार “गणितको चिन्ता (म्याथम्याटिक्स एन्जाइटी)” ले मान्छेको गणित प्रदर्शनलाई प्रभावित गर्न सक्छ। सुधार गर्न चाहनेहरूका लागि ‘म गर्न सक्छु’ भन्ने विश्वासमा अडिग भएर अभ्यास अगाडि बढाउनु महत्त्वपूर्ण हुन्छ। 

म्याथम्याटिक्स एन्जाइटी 

डा. जेनिडो–डार्भोका अनुसार नकारात्मक अनुभवले व्यक्तिलाई ‘डर र चिन्ताको दुष्चक्र’ मा पार्न सक्छ। कसैको “तिमी गणितमा खराब छौ” भन्ने भनाइ वा परीक्षामा आफ्ना सहपाठीभन्दा कम अंक ल्याउने जस्ता नकारात्मक अनुभवले प्रभाव पार्छ।

‘गणितको चिन्ताले हामीलाई गणितबाट अलग गर्न सक्छ र यसैले हाम्रो प्रदर्शनलाई खराब गर्न सक्छ अनि गणितको चिन्तालाई अझ बढाउँछ’‚ उनी भन्छिन् ‘यस प्रकारको बोझले हाम्रो काम गर्ने स्मरणशक्ति (वर्किङ मेमोरी) मा दबाब दिन्छ, जहाँ हाम्रो सोच्ने प्रकृया चलिरहेका हुन्छन्।’

डा. जेनिडो–डार्भोका अनुसार चिन्तित हुँदा हाम्रो दिमागमा नकारात्मक विचारले बहुमूल्य मानसिक भागको ठूलो हिस्सा ओगट्छ। फलस्वरुप वास्तविक गणितीय समस्या समाधान गर्ने क्षमता धेरै कम हुन्छ। 

डा. जेनिडो–डार्भोले,लफबरो विश्वविद्यालयमा नौ र दस वर्षका बच्चाहरूमा वर्किङ मेमोरी र म्याथम्याटिक्स एन्जाइटीबीचको सम्बन्धको अनुसन्धान गरिएको बताइन्। 

त्यसक्रममा बच्चाहरूलाई दुई–अंकको मानसिक अंक गणितीय समस्या दिइयो। उनीहरूलाई यस्तो अवस्था पनि दिइयो जहाँ उनीहरूले शब्दहरू सुन्नुपर्थ्यो र त्यसपछि तिनीहरूलाई सम्झेर दोहोर्याउनुपर्थ्यो। ​डा. जेनिडो–डार्भोका अनुसार ‘गणितीय चिन्ताको उच्च स्तर’ भएका बच्चाहरूको प्रदर्शन निकै प्रभावित भयो। 

संख्याको जन्मजात बुझाइ

युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर ब्रायन बटरवर्थ संज्ञानात्मक स्नायु मनोविज्ञानको क्षेत्रमा काम गर्छन्। उनको अनुसन्धानले मानिसहरूमा संख्या बुझ्ने एक स्वभाविक (बिल्ट–इन) क्षमता हुन्छ।

ती बच्चाहरूमा पनि जसले कहिल्यै गणना गर्न सिकेका हुँदैनन्, तिनमा पनि यस्तो क्षमता हुन्छ। तर केही मानिसहरूको लागि यो “प्राकृतिक संयन्त्रले राम्रोसँग काम गर्दैन।

डिस्क्याल्कुलिया एक विशिष्ट सिकाइ अशक्तता हो। यसले विशेष गरी संख्या र मात्रा हरू बुझ्ने र काम गर्ने क्षमतालाई असर गर्छ। प्रोफेसर बटरवर्थका अनुसार डिस्लेक्सियाले जन संख्याको लगभग पाँच प्रतिशतलाई असर गर्छ।

डिस्क्याल्कुलिया भएका मानिसहरूलाई ५ गुणा ८ वा ६ गुणा १६ जोड्ने जस्ता साधारण अंकगणितीय समस्यामा पनि कठिनाइ हुन्छ।

गणित किन अन्य विषयभन्दा फरक?

डा. जेनिडो–डार्भोले गणित सिक्नुलाई ‘मानसिक इँटाको पर्खाल’ निर्माणसँग तुलना गर्छन्, जसमा प्रगतिको लागि बलियो जग आवश्यक छ।

उनी भन्छिन्, “गणितमा, तपाईं इँटा छोडेर अगाडि बढ्न सक्नुहुन्न। उदाहरणका लागि यदि तपाईंसँग इतिहासको कुनै विशेष अवधिको बारेमा थोरै ज्ञान भए पनि चल्छ तर गणितमा त्यस्तो हुँदैन।’

बिबिसीबाट

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।