शीर्ष नेताहरुद्वारा मतदान, विप्लप १८ वर्षपछि मतदानमा सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – मुख्य राजनीतिक दलका शीर्ष नेताहरूले आ–आफ्नो मतदाता नामावली भएको क्षेत्रमा पुगेर मत हालेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डौको टोखा नगरपालिका–४ मा रहेको आधारभूत स्वास्थ्य सेवा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यसैगरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाण्डौ महानगरपालिका–२९ को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । कांग्रेस सभापति गगन थापाले काठमाण्डौ–३० मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मत हाल्नुभएको छ ।

कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने मतदानमा सहभागी हुनुभएको छैन । देउवा उपचारका लागि सिंगापुरमा हुनुहुन्छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको बालकोटमा रहको महेन्द्र शान्ति स्कुल मतदान केन्द्रबाट मत हाल्नुभएको छ ।

नेकपा संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन–३ बाट मतदान गर्नुभएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट–१ बाट मतदान गर्नुभयो भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम–१ नम्बर क्षेत्रमा पर्ने सूर्योदय नगरपालिका–९ बाट मत हाल्नुभयो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेले चितवन–२ बाट मतदान गर्नुभएको छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाण्डौ–२ बाट मत हाल्नुभएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दीबारी–१ को मतदान केन्द्रबाट मत हाल्नु भयो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ बाट मतदान  गर्नुभयो । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाण्डौको बौद्ध, महांकालमा रहको जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको छ  ।

विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गर्नुभएको छ । विप्लवले परिवर्तन गाउँपालिका–३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गर्नुभएको हो । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरान–१८ को कारमेल स्कुल केन्द्रमा मतदान गर्नुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।