सैनामैना महोत्सवमा सांस्कृतिक रौनकता तात्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना । रुपन्देहीको सैनामैना–६, कलौनीमा सञ्चालन भइरहेको सातौँ सैनामैना कृषि तथा पर्यटन महोत्सव सांस्कृतिक कार्यक्रमका कारण थप आकर्षक बन्दै गएको छ। महोत्सवस्थलमा हरेक दिन प्रस्तुत भइरहेका विविध सांस्कृतिक कार्यक्रमले दर्शकलाई झुम्म्याइरहेका छन् भने समग्र महोत्सवको माहोललाई उत्सवमय बनाएको छ।

महोत्सवमा कलाकारहरूको प्रस्तुति हेर्न दैनिक रूपमा ठूलो संख्यामा दर्शकहरू उपस्थित हुने गरेका छन्। विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, सैनामैना नगरस्तरीय भजन प्रतियोगिता, ‘सैनामैना डान्सिङ आइडल’, जोडी नृत्य प्रतियोगिता तथा स्थानीय कला–संस्कृतिका प्रस्तुतिले महोत्सवमा बेग्लै रौनक थपेको छ।

शुक्रबार राष्ट्रिय लोकगायक अर्जुन सापकोटाले आफ्नो लोकप्रिय गीत ‘झलिको’ लगायतका प्रस्तुतीमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए। उनको प्रस्तुतीमा दर्शकहरू साँझ अबेरसम्म झुम्मिएका थिए। त्यसैगरी शनिबार लोकगायक प्रकाश दुतराजको सांगीतिक प्रस्तुति सम्पन्न भयो भने आइतबार र्याप गायक लाहुरेको प्रस्तुतिले सैनामैनालाई सांस्कृतिक महोत्सवमय बनाएको थियो।

महोत्सवको सांस्कृतिक संयोजक दिपेन्द्र ढकालका अनुसार सोमबार साँझ चर्चित गायक दुर्गेश थापाको विशेष सांगीतिक प्रस्तुति रहनेछ। उनको प्रस्तुति हेर्न सोमबार साँझदेखि नै महोत्सव स्थलमा चहलपहल बढिसकेको छ।

सैनामैना व्यापार संघको आयोजनामा सुरु भएको यस महोत्सवले स्थानीय उद्योग–व्यापार, कृषि, पर्यटन तथा लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने आयोजकको विश्वास छ। साथै, नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न, धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण गर्न र लोकसंस्कृतिको जगेर्ना गर्न महोत्सव सहयोगी बन्ने अपेक्षा गरिएको छ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले सांस्कृतिक कार्यक्रमले दर्शकलाई छुट्टै मनोरञ्जन दिनुका साथै स्थानीय कला र संस्कृतिको विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार, पर्यटकीय स्थलहरूको प्रदर्शनी, सैनामैनाको पर्यटन सम्भावनाबारे गोष्ठी तथा अन्तरक्रियालगायतका कार्यक्रमहरू पनि आयोजना गरिने भएका छन्।

आयोजकका अनुसार महोत्सवलाई करिब साढे एक लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।