काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई आज सम्बाेधन गर्दै सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत नागरिकको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गर्नुभयो ।
नागरिकले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उहाँले त्यस मतादेशको कदर गर्दै जिम्मेवार भएर गुण तिर्ने प्रतिज्ञा बताउनुभयाे । पार्टी र सरकारले बोलेर भन्दा पनि काम गरेर नागरिकमाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामीले पाएको मत समर्थनको मात्र होइन परिवर्तनको हो । हामीलाई नागरिकले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु । हामीले बदल्न शुरू गरिसकेका छौँ । अब हामीले बोलेर मात्र हुँदैन । रास्वपाका हरेक माननीयहरूले कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामीले भन्दा पनि सरकारका कामहरू अझै राम्रोसँग बोल्नेछन् ।’
सभापति लामिछानेले सुशासनको सवालमा कुनै पनि सम्झैता नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।