काठमाण्डाै – नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कालाई अनधिकृत रूपमा वक्तव्यबाजी नगर्न सचेत गराएको छ ।
पार्टी मुख्यालय सानेपामा आज बसेको केन्द्रीय अनुशासन समितिको बैठकले नेता खड्काले चैत्र १४ गते कार्यवाहक सभापतिको हैसियतमा नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा वक्तव्य जारी गरेको निष्कर्ष निकाल्दै आइन्दा त्यसो नगर्न सचेत गराएको हो ।
नेता खड्काले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विरोध गर्दै कार्यवाहक सभापतिका रूपमा वक्तव्य जारी गर्नुभएको थियो । त्यो कार्य अनधिकृत भएकाले त्यसो नगर्न नेता खड्कालाई सचेत गराउने निर्णय गरिएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिनुभयो ।
उहाँले त्यस्ता खालका गतिविधि तत्काल बन्द नभए पार्टीको विधान र प्रचलित कानूनबमोजिम पार्टीका जो कोही नेतालाई कारबाही गरिने चेतावनी दिनुभयो ।
बैठकले प्रतिनिधिसभा सदस्य चुनाव २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लङ्घन गरेका भए त्यसकाे उजुरी यही चैत्र मसान्तभित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन पनि सिङ्गो पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।
अनुशासन समितिले चुनावमा पार्टीको अनुशासन विपरीतका गतिविधि गरेकाहरूलाई ७ दिनभित्र स्पष्टीकरण दिन पनि निर्देश गरेको छ ।