वीरगञ्जमा हैजा र झाडापखालाको सङ्क्रमण केही कम हुन थाल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 भदौ १८, काठमाण्डौ – पर्साको वीरगञ्जमा फैलिएको हैजा र झाडापखालाको सङ्क्रमण केही कम हुन थालेको छ । अस्पताल भएका बिरामी निको भएर घर फर्कने सङ्ख्या बढेको छ ।

स्वास्थ्य कार्यालय पर्साको पछिल्लो तथ्याङ्कअनुसार नौ सय ६५ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएकामा आठ सय ६५ जना उपचारपछि घर फर्किसकेका छन् । एक सय जना अहिले पनि उपचाररत छन् । त्यस्तै एक सय ९४ जनामा हैजा पुष्टि भएकोमा एक सय ८२ जना घर फर्किसकेका छन् । अरू १२ जनाको उपचार भइरहेको छ ।

गएको साउन २८ गतेदेखि झाडापखालाका बिरामी देखा परेकोमा केहीमा हैजा समेत पुष्टि भएको थियो । त्यसपछि बिरामी थपिँदै गएकोमा अहिले केही कम भएको छ । विशेषगरी वीरगञ्ज र पोखरियामा हैजाको सङ्क्रमण छ ।

प्रभावित क्षेत्रमा सङ्क्रमण थप फैलिन नदिन जनचेतना र सरसफाइका काम भइरहेको वीरगञ्ज महानगरले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।