पूर्वप्रधानमन्त्री ओलीकाे बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ ।

ओलीलाई रिहा गर्न माग गर्दै दायर भएकाे निवेदनमा आज भएको सुनुवाइपछि अदालतले रिहा गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकको निवेदनमा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।

ओलीकी श्रीमती राधिका शाक्य र लेखककी श्रीमती यशोदाले निवेदन दर्ता गराउनुभएको हो । ओलीको निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा र लेखकको कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो ।

प्रहरीले अस्ति शनिवार दुवै नेतालाई पक्राउ गरेको हो । भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनबारे जाँचबुझ गर्न गठिन आयोगको सिफारिशअनुसार बल प्रयोग गरेको अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न प्रहरीले उहाँहरूलाई पक्राउ गरेको हो ।

हिजो जिल्ला अदालत काठमाण्डाैले ओली र लेखकलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।