आज ३९ जिल्लामा बाढीको जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असार १६, काठमाण्डौ – आज देशका विभिन्न ३९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको जोखिम छ ।

यस्तै कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, बाग्लुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, रुकुम पश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, जाजरकोट, कालीकोट, मुगु, दैलेख, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला बहने नदीहरुमा पनि बाढी आउन सक्ने सम्भावना छ ।

सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीको बहाव पनि आज उल्लेखय बढ्ने र आकश्मिक बाढीको सामान्य जोखिम देखिएको छ । त्यसैले ती जिल्लाका नदी तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र बबई नदीको जलसतह सतर्कता तह तलै रहने देखिए पनि बढ्ने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता आवश्यक छ ।

गएको २४ घण्टामा कञ्चनपुरको बेलौरीमा २०१ मिलिमिटर पानी परेको छ । यो निकै ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कैलाली, कञ्चनपुरलगायतका सुदूरपश्चिमका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।

आज मधेशबाहेक अरु प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।