लायन्स क्लब अफ सैनामैना बोलबमद्वारा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना ।  लायन्स क्लब अफ सैनामैना बोलबमको आयोजनामा मधुमेह परीक्षण कार्यक्रम मंगलबार सैनामैना नगरपालिका–२, इन्द्रेणी टोल, शिवालय मन्दिर परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ।

 कार्यक्रम लायन्स क्लब अफ सैनामैना बोलबमका अध्यक्ष लायन सौगात भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो।


बिहान ८:०० बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा करिब १२० जना स्थानीय नागरिकले निःशुल्क मधुमेह परीक्षण सेवा लिएका थिए। कार्यक्रमको उद्देश्य समुदायस्तरमा मधुमेहसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराउनु रहेको आयोजकले जनाएको छ।


कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५P, नेपालका LGAT Team Youth Co-ordinator लायन सुरेन्द्र घिमिरेले मधुमेहजस्ता दीर्घरोगको समयमै पहिचान र रोकथामका लागि नियमित परीक्षण अपरिहार्य रहेको बताउनुभयो।

 विशिष्ट अतिथि सैनामैना नगरपालिका–२ का वडा अध्यक्ष अम्मर बहादुर कडेलले सामाजिक सेवामा लायन्स क्लबको सक्रिय भूमिकाको प्रशंसा गर्नुभयो।


कार्यक्रममा वक्ताका रूपमा इन्द्रेणी खेल विकास संस्थाका अध्यक्ष श्री रामप्रसाद अधिकारी, गोदावरी सहकारी संस्थाका संस्थापक अध्यक्ष श्री लक्ष्मी जोशी, लायन्स डिस्ट्रिक्ट ३२५P का डिस्ट्रिक्ट एड्भाइजर लायन चित्र के.सी. ले आफ्ना धारणा राख्नुभएको थियो। वक्ताहरूले स्वास्थ्य सचेतना अभिवृद्धि र यस्ता कार्यक्रमको प्रभावकारिताबारे चर्चा गर्नुभयो।


कार्यक्रममा स्थानीय संघ–संस्था प्रतिनिधि, लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मधुमेह परीक्षण तथा स्वास्थ्य सेवा बुटवल अस्पताल प्रा.लि. की नर्स टीका थापा र नर्स जमुना बगालेको प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो।


कार्यक्रम सञ्चालन लायन सुनिता अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष लायन लक्ष्मी श्रेष्ठले व्यक्त गर्नुभएको थियो। कार्यक्रम संयोजन तृतीय उपाध्यक्ष लायन माया जोशीले गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष लायन सौगात भट्टराईले आफ्नो मन्तव्यमा भन्नुभयो:
"हामी लायन्स क्लब अफ सैनामैना बोलबमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ निरन्तर सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। मधुमेह जस्ता दीर्घरोगको समयमै परीक्षण र सचेतनाले जीवन रक्षामा महत्वपूर्ण भूमिका खेल्छ। आगामी दिनमा पनि हामी यस्ता स्वास्थ्य तथा सामाजिक सेवा कार्यक्रमलाई अझ व्यापक बनाउन प्रतिबद्ध छौं।"


“Happy Hearts – Helping Hands” भन्ने मूल नारासहित सम्पन्न उक्त कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सकारात्मक योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

 लायन्स क्लब अफ सैनामैना बोलबमले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।