निश्चल ज्ञवाली, सैनामैना ।
सैनामैनाको भाटाचौर स्थित जनकल्याण माध्यमिक विद्यालयमा विद्यालयस्तरीय कृत्रिम घट्ना अभ्यास कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी शहरी पूर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजनाको आयोजनामा सैनामैना नगरपालिका वडा नं ६ भाटाचौर स्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा विद्यालयस्तरीय कृतिम घट्ना अभ्यास कार्यक्रम अन्तर्गत भूकम्प र आगलागीसम्बन्धीको कृत्रिम घटना अभ्यास गरिएको हो ।
आइतबार श्री जनकल्याण माध्यमिक विद्यालयको खेल मैदानमा भूकम्प र आगलागीका बेला कसरी सुरक्षित हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा विद्यार्थीहरुले नमुना प्रदर्शन गरेका हुन् ।
विद्यालय स्तरिय कृतिम घट्ना अभ्यास कार्यक्रम गर्नु अघि रेडक्रस सोसाइटीका सहजकर्ता डिल्लीराज जोशीले कार्यक्रमको विषयवस्तुमा प्रशिक्षण दिनुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा विपद् ब्यबस्थापन समितीका पदाधिकारीहरु, नगरस्तरिय स्वयंसेबक ब्युरोका सदस्यहरु, सहशिक्षक नायक, युवा रेडक्रस सर्कल, बाल क्लब, र शिक्षक कर्मचारी र विद्यार्थीको सहभागिता गरि घट्नाको अवधारणा, कृत्रिम घट्ना परिवेश र गर्नुपर्ने कार्यहरु तथा समुह विभाजन गरि सबैलाई घट्ना अभ्यास कार्यक्रममा निभाउनु पर्ने भुमिकाहरुको बारेमा जानकारी गराइएको हो ।
कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक केशव ज्ञवालीको अध्यक्षता, प्रधानाध्यापक अर्जुन प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, सह शिक्षक नायक स्वंयमसेवक व्युरो एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रेडक्रसले विपद्का बेला राहत, प्राथमिक उपचार र सुरक्षित आवासमा भूमिका खेल्ने, शिक्षा क्षेत्रमा पर्ने प्रभाव, उद्धारमा सुरक्षा निकाय खटिनेलगायतका विषयमा जानकारी गराइएको छ ।