नवयुवा आन्दाेलनमा बल प्रयाेग गर्न आदेश दिएकाे छैन : रमेश लेखक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट गर्नुभएको छ ।

आज जाँचबुझ आयोगमा बयान दिएलगत्तै काठमाण्डाैमा पत्रकार सम्मेलन आयोजना गरेर नेता लेखकले कुनै पनि आन्दोलनका क्रममा प्रधानमन्त्री वा मन्त्रीले सुरक्षा निकायलाई कति र कसरी बल प्रयोग गर्ने भन्ने आदेश दिने कुनै संवैधानिक वा कानूनी व्यवस्था नभएको उल्लेख गर्नुभयो ।

लेखकले आन्दोलनका क्रममा हताहती भइसकेपछि राजनीतिमा नैतिकतालाई सर्वोच्च मूल्य मानेर गृहमन्त्रीबाट राजीनामा दिएको दाबी पनि गर्नुभयो । उहाँले आफूले भदाै २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समग्र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूलाई दिशानिर्देश मात्रै दिएको दाबी गर्दै त्यसलाई बल प्रयोगको आदेशका रूपमा व्याख्या गर्नु गलत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीलाई कुनै पनि कानूनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन । त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन । सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने विषयको न त कानूनी जिम्मेवारी छ, न त यसबारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ । गृहमन्त्रीले उपलब्ध सूचनाका आधारमा समग्रमा दिशानिर्देश गर्ने हो जुन मैले २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गरेको थिएँ । प्रधानमन्त्री वा मन्त्रीले कसैलाई यति बल प्रयोग गर, यसरी गर भन्ने कुरा पनि होइन । प्रदर्शनका बेला शान्ति सुरक्षा कायम गर्ने क्रममा कहाँनेर के अवस्था र आवश्यकता पर्छ, प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने विषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिति तथा वस्तुगत आधारमा विश्लेषण गरि निर्धारण गर्ने हो ।’

कांग्रेस नेता लेखकले नवयुवा आन्दोलनका मागहरू जायज भए पनि आन्दोलनमा घुसपैठ हुँदा देशले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको प्रति दुःख व्यक्त गर्नुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।