सांसदहरूले अख्तियार प्रमुखलाई साेधे– ‘मीनबहादुर गुरुङले एमालेलाई जग्गादान दिनु भ्रष्टाचार हाे कि हाेइन ?’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कात्तिक १२, काठमाण्डाै – सांसदहरूले भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरुङले नेकपा एमालेलाई करोडौं रुपैयाँ पर्ने जग्गादान गरेकाे विषय भ्रष्टाचार हो कि होइन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सोधेका छन् । गुरुङले एमालेलाई कीर्तिपुरमा झन्डै ११ रोपनी जग्गादान गर्नुभएको छ भने भवन पनि उहाँले नै बनाइदिँदै हुनुहुन्छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले नेकपा एमालेलाई व्यवसायी गुरुङले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सोधेका हुन् । फौजदारी मुद्दाका आरोपित व्यवसायीले प्रधानमन्त्रीकै दललाई जग्गादान दिनु भ्रष्टाचार हो कि होइन भनेर सांसदले जिज्ञासा राखेका छन् ।

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले प्रधानमन्त्रीको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान दिनु र लिनु भ्रष्टाचार भएको बताउँदै यसमा अख्तियारले छानबिन गर्छ कि गर्दैन भनेर प्रश्न सोध्नुभएको छ । एमनेस्टी इन्टरनेशनल नेपालले जग्गादानलाई भ्रष्टाचार भनेको उल्लेख गर्दै माओवादीकी सांसद राईले अख्तियारले यो विषयलाई कसरी हेरेको छ भनेर प्रश्न सोध्नुभएको छ ।

यस्तै बैठकमा नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले पनि गुरुङले करोडौं रुपैयाँ पर्ने जग्गा दिएको विषयमा प्रश्न सोध्नुभयो । ‘प्रधानमन्त्री, मन्त्री, सांसदहरूले गिफ्ट (उपहार) लिन थाले भने देश के हुन्छ ? गिफ्ट लिनेलाई मात्रै होइन गिफ्ट दिनेलाई पनि भ्रष्टाचारमा कारबाही हुनुपर्छ’, प्रसाईंले भन्नुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।