गर्मी बढ्दै गएपछि देशका ५७ जिल्लामा डेँगु देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेँगुको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे बढ्ने भएकाले डेँगुको जोखिम बढेको बताए।
उनका अनुसार ५७ जिल्लामा ९०४ जनामा डेँगु देखिएको छ। उनले पानी पनि पर्न थालेकाले डेँगुको जोखिम बढ्ने भएको हुँदा सचेतना अपनाउन आग्रह गरे। “पानी पर्न थालेपछि डेँगुको सङ्क्रमण पनि बढ्छ”, उनले भने, “त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्छ।” गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनामा डेँगुको सङ्क्रमण देखिएको थियो।
उनका अनुसार यसपटक कुनै पनि जिल्लामा धेरै सङ्क्रमण देखिएको छैन। उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेँगु लाग्छ।
“गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ, त्यसरी सङ्कलित पानीमा लामखुट्टेले फुल पार्छ। सफा पानीमा त्यही लार्भा बन्ने र वयस्क भएपछि मानिसलाई टोक्छ”, उनले भने।
डेँगु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्छन्।
लामखुट्टेबाट बच्न सधैँ झुल टाँगेरमात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ।
सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन।