नेपाल पुलिस क्लबले पीएम कप इतिहासकै धेरै रन बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट इतिहासकै धेरै ३५५ रन बनाएको छ । यसअघि २०१८ मा कीर्तिपुरमा मधेश प्रदेशसँगको खेलमा एपीएफले ३३९ रन बनाएको थियो ।

मूलपानी मैदानमा आज एपीएफ क्लबसँगको खेलमा पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनाएको हो । टस हारेर ब्याटिङ गरेको पुलिसका लागि चार जना खेलाडीले अर्धशतक बनाए ।

पुलिसका शङ्कर रानाले ६१, दिनेश खरेलले ६०, दिलसाद अलीले नटआउट ५१, कप्तान आरिफ शेखले ५० रन बनाए । एपीएफका कमल ऐरी र अमर रौटेलाले २/२ विकेट लिए । अहिले एपीएफले पुलिसले दिएको ३५६ रनको लक्ष्य पछ्याइरहेको छ ।

यस्तै तल्लो मूलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो ।

बागमतीका ईशान पाण्डेले ७१, आशुतोष घिरैयाले ५९ रन बनाए । गण्डकीका कमल परियारले २ विकेट लिए । अहिले गण्डकीले बागमतीले दिएको २९५ रनको लक्ष्य पछ्याइरहेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हिजोदेखि शुरू भएको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।