लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री चेतनारायण आचार्यले बुधबार पदभार ग्रहण गरेका छन् । बिहान बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएर दाङको देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
पदभारपछि मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशको औचित्य पुष्टि गर्ने गरी काम गर्न प्रतिबद्ध रहेको उनले बताए ।मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारको अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । केही दिनभित्र मन्त्रीहरूको कार्यविभाजन गर्ने र मन्त्रिपरिषद्लाई पूर्णता दिने उनले जनाए ।
पदभार ग्रहणपछि प्रमुख सचिव, सचिव तथा कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनोबलका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिएका थिए । बुधबार बुटवलमा शपथ लिएका ८ जना मन्त्रीहरू पनि देउखुरी पुगेका छन् ।