पछिल्लो समयमा व्यक्ति हत्याका घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन्। घटनाका प्रकृति हेर्दा धेरै जसो घटनाहरू कतै रिसिवि, कतै मादक पदार्थ सेवा तथा लागुऔषध दुर्व्यसनीको कारण देखिएको छ।
गत जेठ ४ गते ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या गरियो। उक्त प्रकरणमा प्रहरीले नाबालकसहित ७ जना पक्राउ गर्यो।
पक्राउ पर्नेमा २१ वर्षीय आइते भन्ने सचिन परियार, १८ वर्षीया अञ्जली श्रेष्ठ, २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा तामाङ, ३० वर्षीय दोर्जे अमृत तामाङ तथा एक १३ वर्षीय किशोर रहेका छन्।
प्रहरीको अनुसन्धानका क्रममा उक्त होटलमा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेका थिए। त्यही क्रममा घिमरेले अञ्जलीलाई आँखा झिम्क्याएको घटना नै हत्यासम्मको रुप लिएको खुलेको हो। पक्राउ परेका अधिकांश लागुऔषध सेवन गर्ने रहेको र मृतक प्रहरी जवानले आँखा झिम्काएको उक्त घटना भएको देखिएको छ।
यस्तै, गत वैशाख २९ गते राती काठमाडौंको बत्तीसपुतलीमा सामान्य विवादबीच मोरङका २४ वर्षीय शम्भु धिमाललाई चक्कु प्रयार गरे हत्या गरियो। हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चारजना नै १७ वर्षमुनिका किशोर हुन्।
विपरीत दिशाबाट आउँदै गरेका चारमध्ये एक किशोरसँग शम्भुको कुम ठोक्किएको थियो। सोही विषयमा विवाद हुँदा अर्का एक किशोरले आफ्नो साथमा बोकेको चक्कुले अन्धाधुन्ध प्रहार गरिएको थियो। चार किशोरमध्ये तीनजनाले मदिरा सेवन गरेका थिए। यसमा मादक पदार्थ सेवन र कुम ठोक्किएकै भरमा हत्या गरिएको छ।
त्यसैगरी पर्वतको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती एक वृद्ध दम्पतीको हत्या भयो। उनीहरू ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री थिए। रातको समयमा हत्या भएपछि बिहान घरमा सुनसान भएपछि उनीहरूको हत्याको बारेमा थाहा भयो।
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोली र सिआइबीले अनुसन्धान गर्यो। दम्पतीको हत्यामा जलजला गाउँपालिका–२ नेपाने घर भएका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोट घर भई हाल जलजला गाउँपालिका–२ बौरमा बस्दै आएका ३२ बर्षकै दीपक दर्जी पक्राउ परे।
कृष्ण र दीपकबीच विगत ३/४ वर्षदेखि जिप चलाउने क्रममा चिनजान भएको थियो। आर्थिक स्थिति कमजोर भएको, लागु औषध दुर्व्यसनीमा लागेको, वैदेशिक रोजगारमा समेत असफल भएको, लगायतका कारण उनीहरूले विगत एक वर्षदेखि गाउँ घरका एक्ल महिला तथा बृद्धबृद्धालाई लक्षित गरेर लुटपाट गर्ने मनसाय रहेको पाइएको प्रहरीले जनाएको छ। यसमा पनि लागुऔषधको प्रयोग, आर्थिक अवस्था कमजोर जस्ता कारण देखिएका छन्।
यस्तै अर्को घटना कीर्तिपुरमा ग्यांङ फाइट भयो। गत बुधबार काठमाडौंको कीर्तिपुरमामा दुई पक्षबीच झडपको क्रममा खुकुरी प्रहार भयो।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार झडपको क्रममा खुकुरी प्रहार गर्ने समूहका ९ जनालाई पक्राउ गर्यो।।
पक्राउ पर्नेमा २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर विष्ट, २० वर्षीय उपेन्द्र सिंह, २० वर्षीय सुदीप गिरी, २३ वर्षीय नवीन भनिने नृप भण्डारी, २७ वर्षीय जयन्त धानुक, २० वर्षीय तेज थापा, २२ वर्षीय तपेन्द्रराज खाती र २१ वर्षीय सुनिल रोकाया छन्।
प्रहरीका अनुसार तपेन्द्रराज खाती र धनेश्वर खड्काबीच पुरानो चिनजान थियो। उनीहरूबीचको खटपटका कारण दुई समूहले झगडा गर्ने योजनाले उक्त घटना घटेको हो। पुरानो रिसइबीका कारण झडप भएको प्रहरीको दाबि छ। उक्त आक्रमणमा कीर्तिपुर-१० बस्ने २४ वर्षीय साजिस श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो। साजिसको बायाँ हातमा गम्भीर चोट लागेको थियो। यसमा रिसिइबी कारण रहेको छ।
यी त केवल केही प्रतिनिधि उदाहरण हुन्। हरेक दिन नेपाली समाजमा हथौडादेखि हम्मर प्रहार गरेर पनि व्यक्तिको हत्या भइरहेको छ।