नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज बनाउनुपर्नेमा अध्यक्ष ढकालको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज एवम् परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव–२०२६’ लाई सम्बोधन गर्दै उहाँले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले छिमेकी भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीको स्रोत रहेको भन्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको उल्लेख गनुभयो । अध्यक्ष ढकालले विश्व अर्थतन्त्रमा अनिश्चितता र आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा छिमेकी देशबीचको सुदृढ सहकार्य नै महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

भारतले हालै प्रस्तुत गरेको केन्द्रीय बजेटले पूर्वाधार, ‘डिजिटल कनेक्टिभिटी’, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवद्र्धनमा दिएको प्राथमिकताले नेपालका लागिसमेत नयाँ अवसर सिर्जना गर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले नेपालमा ऊर्जा, पर्यटन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको र यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह समेत गर्नुभएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।