गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चिवतन – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला ठेक्का म्याद सकिन आठ महिना बाँकी रहँदा ५० प्रतिशतमात्र सम्पन्न भएको हो ।

२०८१ सालको असारमा ३० महिनामा काम सम्पन्न गर्नेगरी भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबीआर जेभीलाई ठेक्का दिएको थियो । २०८३ साल पुस २२ भित्र काम सक्नेगरी कुल ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिलेसम्म एउटा टावरको काम लगभग सकिएको छ भने अर्को टावरको दोस्रो तलाको ढलान भएको छ । चारवटा प्यारापिटमध्ये एउटाको काम सकिएको छ ।

दुईवटाको ढलान भएको र बाँकी एउटाको काम शुरू भएको छ । मैदान निर्माण शुरू गरिएको छ । मैदानमा पाँचवटा पिच बनाउने तयारी भइरहेको छ । यससँगै मैदानसम्म पुग्ने बाटो, मैदान र पिच बनाउने कामसँगै अघि बढेको छ । साथै भूमिगत पावर केवल, प्लम्बिङलगायतका काम भइरहेको छ ।

महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले काम छिटो गर्न र समयमा सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो । धुर्मस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यससँगै महानगरपालिकाले प्रदेश र सङ्घसँग सहकार्य गरेर काम अघि बढाएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।