सैनामैना (रुपन्देही) — रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित न्यू एकेडेमी बोर्डिङ स्कुलको २१औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद पौडेलको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री ढकालले न्यू एकेडेमी बोर्डिङ स्कुलले यस क्षेत्रको शैक्षिक विकासमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरू राष्ट्रका भविष्यका कर्णधार भएकाले उनीहरूको शैक्षिक तथा मानसिक विकासमा शिक्षक र अभिभावकले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद पौडेलले विद्यालयको शैक्षिक उपलब्धि र प्रतिष्ठाबारे चर्चा गर्दै स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा र अनुशासित शैक्षिक वातावरण निर्माणमा विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सैनामैना क्षेत्रमा निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्न विद्यालय सफल हुँदै आएको दाबी गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक टोपलाल भट्टराईले विद्यालयको शैक्षिक तथा भौतिक विकासबारे जानकारी गराउँदै प्रारम्भिक चरणमा करिब २०० विद्यार्थीबाट सुरु भएको विद्यालयमा हाल १८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो। पर्याप्त भौतिक पूर्वाधार र आधुनिक सुविधाले विद्यार्थीको समग्र विकासमा टेवा पुर्याएको उहाँको भनाइ थियो।
त्यसैगरी, विद्यालयका शैक्षिक प्रमुख नविन प्रभुले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवालाबीचको सहकार्य र नियमित सुझाव अत्यन्त आवश्यक रहेको बताउनुभयो।
वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विज्ञान तथा प्रविधि, खानाका परिकारलगायतका विषयमा विभिन्न स्टलहरू राखी प्रदर्शनीसमेत गरिएको थियो। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वार्षिक उत्सवले न्यू एकेडेमी बोर्डिङ स्कुलको शैक्षिक योगदान र स्थानीय तथा क्षेत्रीय विकासमा यसको भूमिकालाई थप उजागर गरेको सहभागीहरूको भनाइ छ।