काठमाडौँ : सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देही ल्याएर बयान लिइएको छ। कास्कीस्थित प्रहरीको हिरासतमा रहेका जोशीलाई रुपन्देही ल्याएर बयान लिइएको रुपन्देशीकी प्रहरी प्रवक्ता लक्ष्मी खनालले जानकारी दिइन्। बयान सकिएपछि पुन पोखरा पठाइने जनाइएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका छन्। सोही प्रकरणमा बयानका लागि आज रुपन्देही लगिएको हो।
एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो। जोशी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक पनि हुन्। सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप उनीमाथि छ। सोही प्रकरणमा रास्वपाकासभापतिरवि लामिछाने पनि अहिले पोखरा प्रहरीको हिरासतमा छन्।