विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘समस्या केन्द्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन।’ गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको समेत बताए।
उनले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको सङ्घीयतालाई बलियो बनाउने बताए। विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने धारणा राखे।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रूपमा अगाडि बढिरहेको जानकारी दिए। उनले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको विचार व्यक्त गरे।
सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनीय विषय भएकाले समय आएपछि सम्पूर्ण राजनीतिक दलहरूसँग छलफल गरी साझा सहमतिका आधारमा संशोधन गर्न सकिने जवाफ समेत जवाफ दिए। सरकारले तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट ल्याउने बताए।