संसदीय समितिका नवनिर्वाचित सभापतिहरूको शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाका विषयगत र संयुक्त गरी १२ वटा समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिनुभएको छ । आज दिउँसो सभामुख डोलप्रसाद अर्यालले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी कानून न्याय तथा मानव अधिकार समितिमा रास्वपाकी समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा रास्वपाका आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा रास्वपाकी आकृति अवस्थी सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

संसदीय सुनुवाइ समितिमा रास्वपाका बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाका रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा रास्वपाकी सुम्निमा उदास र अर्थ समितिमा रास्वपाका कृष्णहरि बुढाथोकी सर्वसम्मत निर्वाचित हुनुभयो ।

सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । रास्वपाको समर्थन पाएपछि खड्काको एकल उम्मेदवारी परेको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रास्वपाका गणेश कार्की, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी ओजस्वी शेरचन निर्वाचित हुनुभएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।