बिटुमिन अभावले निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ । 

निर्माणको मुख्य सिजनमा मध्यपूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएर काम रोक्नु परेको निर्माण कम्पनी ज्याङ्सु सगुन जे.भीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले बताउनुभयो । बिटुमिन सप्लाई गर्ने सप्लायरहरूले वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको चरम अभाव भएको भन्दै अर्डर क्यान्सिल गरिरहेको घिमिरे बताउनु हुन्छ । 

निर्माणको अन्तिम चरणमा रहेको  नागढुंगा नौबिसे खण्डको ६ किलोमिटर कालोपत्रे अन्तिम तरणमा छ । ६ किलोमिटर सडक तेस्रो तहको फाइनल पिच गर्दा गर्दै रोकिएको घिमिरेले बताउनुभयो । कुल १२ दशमलव २ किलोमिटर रहेको नागढुङ्गा–नौबिसे सडकमा ६ किलोमिटर सडक फाइनल कालोपत्रे गर्न झण्डै ५३० टन बिटुमिन आवश्यक रहेको घिमिरेले बताउनुभयो । 

तत्काल आवश्यक बिटुमिन उपलब्ध भए १० दिन भित्र नागढुङ्गा–नौबिसे सडक खण्डको फाइनल कालोपत्रे सम्पन्न हुने घिमिरेले जानकारी दिनुभयो । निर्माण व्यवसायीहरूले बिटुमिन अभावले आयोजनाको कालोपत्रेको काम अघि बढाउन नसक्ने जानकारी सरकारी पक्षलाई गराइसकेको नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव ओझा बताउनु हुन्छ । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लगाएको कोटा प्रणालीका कारण आयोजनामा प्रयोग हुने यन्त्र उपकरण सञ्चालन गर्न पर्याप्त डिजेल पेट्रोल पम्पहरूबाट उपलब्ध हुन नसकेको ओझाले बताउनु भयो । नागढुङ्गा–नौबिसे सडक खण्डको अहिलेसम्मको भौतिक प्रगति ८८, र वित्तीय प्रगति ८२ प्रतिशत रहेको छ । 

बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव प्रत्यक्ष रूपमा आयोजना देखिएको छ । त्रिभुवन राजपथ क्षेत्रमा पर्ने यो सडक विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको हो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।