छोटो अवधिमा पाक्ने धानको खोजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा - धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यका साथ धनुषाको हर्दिनाथमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले छोटो अवधिमा पाक्ने तथा उच्च उत्पादन दिने धानका विभिन्न जातको परीक्षण शुरू गरेको छ । 

‘कोपिया परियोजना’ अन्तर्गत धनुषाको बटेश्वरमा किसानसँगको सहकार्यमा यो परीक्षण अघि बढाइएको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की वरिष्ठ वैज्ञानिक डा पल्लवी सिंहका अनुसार जलवायु परिवर्तनका कारण खेती प्रणालीमा देखिएका चुनौतीलाई सम्बोधन गर्न छिटो पाक्ने र उत्पादन क्षमता बढी हुने धानका जातको खोजी तथा परीक्षण थालिएको हो । 

परीक्षण सफल भए उत्पादन वृद्धि मात्र नभइ समयमै बाली भित्र्याउन सकिने भएकाले किसानलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ । वरिष्ठ वैज्ञानिक डा सिंहका अनुसार किसानको अनुभवलाई अनुसन्धानसँग जोड्न बटेश्वरमा प्रत्यक्ष खेतमै धानका बिरुवा रोपिएको छ ।

परीक्षणमा सहभागी किसानले आफ्नै खेतमा विभिन्न जातका धान रोपेर तिनको वृद्धि, उत्पादन क्षमता तथा रोगप्रतिरोधी अवस्थाको अवलोकन गरिरहेका छन् । किसानका अनुभव, आवश्यकता र प्राथमिकताका आधारमा उपयुक्त जात छनोट गरिने व्यवस्था गरिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।