काठमाण्डौ – कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । नवयुवा आन्दोलनको क्रममा ध्वस्त भएका १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी आजदेखि पुनः सञ्चालनमा आएको हो ।
पुनः सञ्चालनमा आएको भाटभटेनीको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आउँदा दिनमा नेपालमा कहिल्यै पनि यस्तो नहोस् भनी प्रार्थना गर्नुभयो । उहाँले नवयुवा आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम भएको घटना दुःखद भएपनि आफूले त्यसमा चिन्ता गरेर बस्ने पक्षमा नरहेको बताउनुभयो ।
प्रबन्ध निर्देशक गुरुङले अरू ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै पुनः सञ्चालनमा ल्याउने बताउनुभयो । नागासाकी र हिरोसिमा ध्वस्त भएपछि जापान बनेजस्तै नवयुवा आन्दोलनले ध्वस्त बनाएको नेपाल पनि अब राम्रो हुने प्रबन्ध निर्देशक गुरुङको विश्वास छ ।
गएको भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पत्तिको रूपमा रहेको भाटभटेनी सुपरमार्केट अन्तर्गत १२ वटा सुपरमार्केट ध्वस्त हुँदा अर्बौंको क्षति भएको थियो । ती सबै सुपरमार्केटहरूको सञ्चालनमा ढिलाइ नहुने प्रबन्ध निर्देशक गुरुङले बताउनुभयो ।