चुनावका बेला पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – चुनावका कारण १० दिनमै पेट्रोल, डिजलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरूले अनुमान गरेका छन् ।

नेपाल आयल निगमकाअनुसार चुनावका बेला पेट्रोलियम पदार्थ खपत बढ्ने भएकाले त्यसैलाई लक्षित गरेर इन्धन व्यवस्थापनको तयारी शुरू भएको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा जस्तै चुनावमा पनि ठूलो परिणाममा पेट्रोलियम पदार्थ खपत हुने अनुमानसहित निगमले त्यहीअनुसारको इन्धन व्यवस्थापनका लागि तयारी थालेको अधिकारीहरूले बताएका छन् ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोहरूलाई निर्देशन दिन लागेको बताउनुभयो । उहाँकाअनुसार चुनाव आसपासमा केही दिन नाकाहरूसमेत बन्द हुने भएकाले त्यहीअनुसारको इन्धन व्यवस्थापन गर्न डिपोलाई निर्देशन दिइँदैछ ।

कार्यकारी निर्देशक भट्टकाअनुसार अहिले झन्डै २०–२५ लाख लिटर पेट्रोल औसतमा खपत हुने गरेको छ । डिजल ३८–४० लाख लिटर खपत हुने गरेको छ । चुनावको १० दिनअघि मात्रै औसतमा २०–२५ प्रतिशत खपत वृद्धि हुने अनुमान छ । त्यहीअनुसारको स्टक राखेर अघि बढ्ने निगमकाे भनाइ छ ।

 कार्यकारी निर्देशक भट्टले २–४ दिन नाका बन्द भए पनि बजारमा समस्या नहुने गरि इन्धन व्यवस्थापन तथा आपूर्ति गरिने जानकारी दिनुभयो । कुन–कुन नाकाबाट कति इन्धन ल्याएर कति माैज्दात राख्नेबारे निगम यही हप्ता निर्णयमा पुग्नेछ ।

नेपालमा आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था मिलाउने जिम्मा पाउँदै आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट निगमले पेट्रोल, डिजल, हवाई इन्धन, ग्यास ल्याउने गरेको छ । अहिले वितरण, डिपोहरू निगम नआएरै मोबाइलमार्फत पैसा तिरेर इन्धन खरिद गर्नसक्ने व्यवस्था मिलाएको कार्यकारी निर्देशक भट्टले बताउनुभयो ।

नेपाल आयल निगमले भण्डारण क्षमता विस्तारको कामलाई तीव्र पारेको छ । २ वर्ष अघिसम्म पेट्रोल ८ दिनलाई र डिजल १२ दिनलाई मात्रै धान्न सक्ने क्षमता रहेकोमा निगमले अमलेखगञ्जमा १४ हजार केएलको ४ वटा इन्धन भण्डारण ट्याङ्की निर्माण गरेको छ । पोखराको १० हजार केएल ट्याङ्कीलाई निगमले सञ्चालनमा ल्याएको छ । त्यस्तै विराटनगर, नेपालगञ्जमा रहेका ट्याङ्कीहरूलाई प्रयोगमा ल्याउँदै भण्डारण क्षमता बढाउँदै लगेको छ ।

अहिले डिजल झन्डै १४ दिनलाई र १२ दिनलाई पेट्रोल भण्डारण गर्ने क्षमता निगमको रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिनुभयो ।

पाइपलाइनको काम पनि तीव्र

नेपाल आयल निगमले पाइपलाइनबाट इन्धन ल्याउन पाइलाइन विस्तारको कामलाई तीव्र पारेको छ । अहिले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माण गरेर सञ्चालनमा आइसकेको छ । २०७६ सालमा डिजलमात्रै पाइपलाइनबाट ल्याइएकोमा अहिले अमेलेखगञ्जमा पेट्रोलको भण्डारण गृह बनाएर पेट्रोल, मट्टीतेल पनि पाइपलाइनमार्फत ल्याउन सफल भइरहेको भट्टले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अहिले डिजल, पेट्रोल, मट्टीतेल जति बेला आवश्यक पर्‍याे त्यति बेला भारतबाट ल्याउन सहज भएको छ । भारतबाटै ट्याङ्करमा इन्धन ल्याउँदा बेलाबेलामा कठिन हुने गरेकोमा अहिले त्यस्ता अवस्था हटेको उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक भट्टका अनुसार इन्धन पाइपलाइनमार्फत ल्याउँदा ढुवानी भाडासमेत सस्तो पर्ने गरेको छ । ढुवानी खर्च कटौती भएकै कारण उपभोक्तालाई प्रतिलिटर २ रुपैयाँ इन्धन सस्तो पर्न गएको छ । आउँदा दिनमा पनि पाइपलाइन विस्तारको काम चलेकाले अझ ढुवानी लागत घट्ने र उपभोक्तालाई भार कम पर्न जाने उहाँको भनाइ छ ।

भट्टका अनुसार अहिले फेरि नयाँ पाइपलाइन योजना अघि बढाइँदैछ । अमलेखगञ्ज–चितवनसम्म र सिलगुढी–झापासम्मको पाइपलाइन योजना अघि बढ्दैछ । यसले प्रतिलिटर साढे ३ रुपैयाँ अझै इन्धन सस्तो पर्न जानेछ । पाइपलाइन तथा भण्डारण गृह अबको ३ वर्षमै सक्ने आयल निगमको लक्ष्य छ । हवाई इन्धनलाई समेत पाइपलाइनबाट नेपालमा ल्याएर भण्डारण गरि वितरण गर्ने तयारी निगमको छ । यसले ट्याङ्करहरू भारत जान पर्ने बाध्यताको अन्त्य हुने निगमको भनाइ छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।