उदयपुर – चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीको त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । निर्माणाधीन पक्की पुल बाढीले भत्काएपछि बेलहीमा झोलुङ्गे पुल निर्माण गरिएको हो ।
चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाका अनुसार झोलुङ्गे पुल निर्माणमा झन्डै ६० लाख रुपैयाँ खर्च भएको छ । पुल नहुँदा चौदण्डीगढी नगरपालिकाका त्रियुगा नदी पारीका वडा १०, ५ र ९ का बासिन्दालाई सास्ती थियो ।
झोलङ्गे पुल निर्माण भएपछि झन्डै ५ हजार बासिन्दालाई बेल्टार बजार आवतजावत गर्न सहज भएको नगरपालिकाले जनाएको छ । बेलहीमा २०६७ सालमा नै पक्की पुल निर्माण थालिएको थियो ।
यसका लागि ११ करोड २७ लाख रुपैयाँ विनियोजन पनि गरिएको थियो । तर २०७८ सालमा त्रियुगाको बाढीले पक्की पुलको तीन पिलर र स्ल्याब भत्काएपछि काम अघि बढ्न नसकेको उपमेयर मणिकादेवी दुलालले बताउनुभयो ।