काठमाण्डाै – जिल्ला प्रहरी परिसर काठमाण्डाैले पछिल्लो ६ महिनामा सम्पादन गरेका कामहरूको अर्धवार्षिक समीक्षा गर्दै सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाइएको जनाएको छ ।
परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले गएकाे भदाैमा भएकाे नवयुवा आन्दाेलनपछि क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणसँगै प्रहरी सेवालाई आधुनिक प्रविधिसँग जोडिएको जानकारी दिनुभयो । एसपी भट्टराईकाअनुसार भदाै २३ र २४ गतेको घटनामा काठमाण्डाैका १२७ प्रहरी संरचनामध्ये ४२ वटा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । अहिलेसम्म ९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ जसमा गौशाला, बानेश्वर र जनसेवाजस्ता महत्त्वपूर्ण इकाइहरू रहेका छन् ।
प्रहरीले अनुसन्धान र अभियोजनलाई चुस्त बनाउन ‘फाइल ट्र्याकिङ सिस्टम’ शुरू गरेको छ । यस अवधिमा प्रहरीले ३० हजार ६०० पटक फोन सम्पर्क, १ हजार ७०० एसएमएस र १ हजार ५५० इमेलमार्फत उजुरीकर्ता र पीडितहरूसँग फलोअप गरेको छ । ८३ हजारभन्दा धेरै सेवाग्राहीको विवरण डिजिटल माध्यमबाट सुरक्षित राखिएको र नागरिक सहजकर्तामार्फत सेवा प्रवाहलाई सरलीकृत गरिएको प्रहरीले जनाएको छ ।
काठमाण्डाैमा परम्परागत अपराधको तुलनामा साइबर र आर्थिक अपराधको जोखिम बढ्दै गएको एसपी भट्टराईले बताउनुभयो । काठमाण्डाैमा हुने कुल अपराधको ८५ प्रतिशत हिस्सा बैंकिङ कसुर, अभद्र व्यवहार र चोरीजस्ता १० वटा मुख्य कसुरले ओगटेका छन् ।
पछिल्लो ६ महिनामा ५ हजार ५६६ वटा मुद्दा दर्ता भएका छन् जसमध्ये बैंकिङ कसुरका सबैभन्दा धेरै छन् । साइबर अपराधतर्फ १ हजार ३३० वटा उजुरी प्राप्त भएका छन् जसमा ‘अनलाइन शपिङ फ्रड’ प्रमुख देखिएको छ । ‘ओटीपी’ चोरी र ‘आईडी’ बुस्टिङका नाममा हुने ठगी पनि नयाँ चुनौतीका रूपमा देखापरेका उहाँले बताउनुभयो ।
एसपी भट्टराईले भन्नुभयो, ‘मानिसहरू घरबाटै सेवा चाहन्छन् जसले गर्दा अनलाइन शपिङ फ्रड बढ्दो छ । भर्चुअल माध्यमबाट हुने यस्ता अपराधको अनुसन्धानमा केही कानूनी र प्राविधिक जटिलता भए पनि हामीले प्रभावकारी रेस्पोन्स दिने प्रयास गरिरहेका छौँ ।’
साथै हुन्डीमा २ करोड ६३ लाख र सम्पत्ति शुद्धीकरणमा २९ करोड रुपैयाँ बराबरको बिगो दाबीसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एसपी भट्टराईका अनुसार पछिल्लो ७ महिनामा काठमाण्डाै प्रहरीले गाडी दुर्घटना र विपदमा परेका २ हजार २५० जनालाई तत्काल उद्धार गरी अस्पताल वा घरसम्म पुर्याउने काम गरेको छ । हराएका व्यक्तिहरूको खोजी कार्यमा पनि प्रहरी सक्रिय देखिएको छ । यस अवधिमा हराएका १ हजार ४०० मध्ये १ हजार २१९ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ । त्यसैगरी काठमाण्डाैका नागरिकको पहिचान र आर्थिक कारोबारसँग जोडिएको मोबाइल सेट हराउने दर पनि उच्च छ । हराएका ६ हजार ९० मोबाइलमध्ये १ हजार ८९ वटा सेट फेला पारेर धनीलाई बुझाइएको छ ।
आत्महत्याको प्रयास गर्ने र कोठामा थुनिएर रहेका व्यक्तिहरूको उद्धार तथा सडकमा रहेका असहाय व्यक्तिहरूलाई कल्याणकारी संस्थासम्म पुर्याउने कार्यलाई पनि प्रहरीले निरन्तरता दिएको छ । एसपी भट्टराईले यस्ता सेवाहरू पूर्णरूपमा निःशुल्क हुने र प्रहरीको उपस्थिति नै नागरिकको सुरक्षाको ग्यारेन्टी भएको स्पष्ट पार्नुभयो ।
२०८२ भदौ २३ र २४ गते काठमाण्डाैमा भएको जनधनको क्षतिबारे बोल्दै भट्टराईले त्यस घटनामा ४९ जनाको ज्यान गएको र ४२ वटा शवको पहिचान भई ज्यानसम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको बताउनुभयो ।
उहाँका अनुसार यस घटनासँग सम्बन्धित २१० वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २०९ वटाको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गरिएको छ । त्यही घटनाको सिलसिलामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको र अहिले उहाँहरू हाजिरी जमानीमा रहनुभएको प्रहरीले जनाएको छ ।
यस घटनाका क्रममा १८१ वटा हातहतियार बरामद गरिएको छ भने फरार रहेका १६२ कैदी र ९० जना थुनुवालाई पुनः पक्रेर कारागार चलान गरिएको उहाँले बताउनुभयो । प्रहरीले सीसीटीभी फुटेज, डीएनए परीक्षण र प्रत्यक्षदर्शीको बयानका आधारमा सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाण्डाैमा प्रहरीको उपस्थिति ढिलो भएको गुनासो आइरहँदा जिल्ला प्रहरी परिसर काठमाण्डाैले चैत महिनामा मात्र प्रहरीको १०० नम्बरमा २६ हजार ८८९ कल आएको बताउनुभयो । यसमध्ये १० हजार ९५ वटा कलमा प्रहरी फिल्डमै पुग्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।
प्रहरीको तथ्याङ्क अनुसार ७ प्रतिशत घटनामा ५ मिनेटभित्र र २६ प्रतिशत घटनामा १० मिनेटभित्र प्रहरी पुग्ने गरेको छ । तर १८ प्रतिशत घटनामा भने प्रहरी पुग्न २५ मिनेटभन्दा धेरै समय लाग्ने गरेको छ । एसपी भट्टराईका अनुसार ट्राफिक जामका कारण गाडी जक्शनहरूमा रोकिनुपर्ने अवस्था, भदौको घटनामा गाडीहरू नष्ट भएपछि देखिएको साधनको न्यूनता, चक्रपथ विस्तारका कारण पहिलेका प्रहरी बीट र साना युनिटहरू विस्थापित हुनु समस्याका कारण रहेका छन् ।
प्रहरीले आउँदा दिनमा यो ‘रेस्पोन्स टाइम’ लाई १० मिनेटको औसतमा झार्ने लक्ष्य राखेको छ । यसका लागि ड्रोन पेट्रोल र साना गाडीको प्रयोग बढाउन लागिएको उहाँले बताउनुभयो ।