वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँच नभएको निर्वाचन आयोगको स्पष्टोक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – निर्वाचन आयोगले आफ्नो वेबसाइट तथा मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच नरहेको स्पष्ट पारेको छ । आयोगले विज्ञप्ति नै निकालेर यसबारे जानकारी गराएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच नरहेको भनिएको छ ।

आयोगले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका दावीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिवद्ध रहेको विज्ञप्तिमा भनिएको छ ।

निरन्तर अनुगमन, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेको आयोगको भनाइ छ । यस सम्बन्धमा आएका गलत सूचनामा विश्वास नगर्न पनि आयोगले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।