तरुलको भाउ पोहोरभन्दा दोब्बरले धेरै, पिँडालु पनि महँगो, सखरखण्ड केही सस्तो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – तरुलको भाउ पोहोरभन्दा यसवर्ष दोब्बरले महँगो भएको छ । पोहोर आजको दिन अर्थात् माघे सङ्क्रान्तिको दिन तरुलको न्यूनतम औषत मूल्य प्रतिकिलो ४६ र अधिकतम ५० रुपैयाँ रहेकोमा आज तरुलको औषत भाउ किलोमा न्यूनतम एक सय र अधिकतम एक सय २० रुपैयाँ छ ।

काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीका अनुसार आज तरुलको औषत मूल्य किलोमा एक सय १० रुपैयाँ रहेको छ । तरुल गएको वर्षभन्दा महँगो भएको हो ।

यसैगरी पिँडालु पनि महँगो नै भएको छ । पोहोर पिँडालु किलोमा ६७ रुपैयाँ रहेकोमा अहिले ८५ रुपैयाँ रहेको छ । तर पोहोरभन्दा सखरखण्डको भाउ केही घटेको छ । सखरखण्ड पोहोर किलोको ७७ रुपैयाँ रहेकोमा अहिले आजको दिन १३ रुपैयाँले घटेर किलोमा ६५ रुपैयाँ रहेको छ ।

यो कालिमाटीको मूल्य सूची हो । खुद्रामा भाउ यो भन्दा महँगो पर्छ । कन्दमूल अर्थात् माटोमुनि फल्ने तरुलसहित सखरखण्ड र पिँडालुको माग माघे सङ्क्रान्तिका दिन उच्च हुने गर्छ ।

तरुल नेपालमै उत्पादन हुने भएकाले त्यति धेरै आयात गर्नु नपर्ने भए पनि पोहोर ६ लाख ३९ हजार रुपैयाँ बराबरको तरुल आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

तरुलभन्दा सखरखण्डको आयात निक्कै धेरै छ । पोहोर ६७ लाख रुपैयाँ बराबरको सखरखण्ड आयात भएको छ । यसपाली पनि सखरखण्डको माग धन्न भारत र चीनबाट आयात गरिएको छ । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।